Khalti Ko Prasanga

गर्भ गीत *ऋशान*

मार्च २, २०१२


तिम्रो आगमनको खबरले मनमा उठेका बदलावहरु ।
तिम्रो अस्तित्वको आभासले, ह्रदयमा उठेका भावहरु ।।
अदभूत् , मूल्यवान अनि शब्द  'ऊँ' जस्तै प्रभावशाली ।
एक सोच, एक जीवनसित जोडिएको, मेरो उम्रदो बाली ।।

मेरो जीवन, जसरी तिम्रो जीवनसित जोडिएको ।
मेरो भाव, जसरी तिम्रो भावसित जोडिएको ।।
यही नाता, तिमी र म बीच; सन्तान र माताको ।
मेरो सन्तान तिमी, तिमी उपहार मलाई विधाताको ।।

तिम्रो पहिलो पहिलो अनुभूति, पूरै विचारशाली ।
तिम्रो नँया नँया स्पर्श, तरंगै तरंग खाली ।।
तिम्रो हुर्कदो त्यो प्राणको, मेरो प्राण पूजारी ।
सन्तान मेरो, हरेक कदम उठाउनू सम्हाली-सम्हाली ।।

तिम्रो अनुभूतिले मात्र पनि, मेरो संसार बदलियो पूरै ।
मेरो भूत,  मेरो भविष्य र वर्तमान भरि नै ।।
तिम्रो कल्पना  अनि तिम्रो सम्झनाको  मभित्र अदभूत् छाप ।
तिमी अस्तित्वमा आउने बित्तिकै, ममा जन्मियो ममताको ताप ।।

न डगमगाउनू  गर्भको पानीमा, न डराउनू  कुनै सोचको प्रभावमा ।
सब तिम्रा लागि विधाताले कोर्दै छन्, उनैलाई सम्झनू यो बदलावमा ।।
स्वागत छ तिमीलाई हाम्रो यो संसारमा, स्वस्थ्य भई आउनू ।
तेज बुद्दि ,भक्तिले पूर्ण मन, बलियो भाग्य, उदार ह्रदय तिमीले पाउनू ।।


मार्च १९, २०१२

आफूभित्रका परिवर्तन सित, तिम्रो आगमनको प्रतिध्वनि सुन्दै ।
परिवर्तन सितै आएका, ममता अंकित भावहरु ह्रदयमा बुन्दै  ।।
तिम्रा साना साना हात खुट्टा, अनि गुलाबभन्दा कोमल स्पर्स ।
सबको परिकल्पनाले मात्र पनि ह्रदयमा छाउँछ अपार हर्ष ।।

मेरो शरीर भित्र दुई मुटुको स्पन्दन,
एक म आफू, अर्को मेरो नन्दन ।।
तिम्रो बन्दै गरेका हर कालीगढीको,
अपार प्रशंसा उद्देश्य हरेक घडीको ।।

शरीर धरेको हामीले उद्देश्य सहित्
उद्देश्य  बुझ्नु मै हरेक मानसको हित ।।
कोशीस गर्नु तिमी मको अर्थ बुझ्न,
विधाताको निपुणमा पुरै भिज्न ।।

माया छ, ममता छ संसारमा,
ठूलो ह्रदय लिई आउनू यिनलाई भर्न ।
ज्ञान गुणको अपार खानी बोकी आउनू,
पृथ्वीका हर प्राणी माझ शान्ति छर्न ।।

तिम्रा हर उद्देश्य अटल रहुन् ,सद्बुध्दिले पूर्ण तिनका धर ।
विचार र बुद्दिले पूर्ण तिम्रा वाणी हुन्,निश्चल, मधुर, स्वच्छ कर्म हर ।।
हर पाइलामा जीतको प्रतिध्वनि, त स्वभावमा त्यति नै नम्रता ।
जति निर्णय गर्ने शक्ति प्रबल, त्यति नै गल्ति स्वीकार्ने शीष्टता ।।

हर सद्गुणले तिमी युक्त हुनू,
मनमा अपार श्रद्धा विधाता प्रतिको ।
सुन्दर भाग्य ल्याउनू बलियो,
विचार तेजिलो त हर सुकर्म होस् तिमीलाई सजिलो ।।

तिम्रा हर कर्ममा शान्तिको प्रतिध्वनि गुन्जियोस् ,
तिम्रा हर स्पर्समा, मीठो मुक्तिको गति बहोस् ।।
विधाताले तिम्रो भाग्यमा हर खुशी कोरिदिउन् ।
तिम्र हर पाइलामा उनले आशीसका गुच्छा छरिदिउन् ।।


मार्च २९, २०१२
(प्रथम अल्ट्रासाउंड)
तिम्रो रुपको साक्षात्कार आज पहिलो पटक गर्दा ,
तिम्रो त्यो चलिरहेको हात, खुट्टा तथा स्पन्दन ह्दयमा धर्दा ।
मनमा ममताको खानी पूरै भरिएको आभास छायो ।
तिमीलाई पहिलो पटक हेर्दा, यो मनले अनौठो शान्ति पायो ।।
 
तिम्रो त्यो कोमल शीर, सानो शरीर अनि हात खुट्टा चलयमान,
विधाताको सुन्दर कालीगढीको, एक उत्तम कला समान ।।
ए मेरो सन्तान ! आज तिमीलाई प्रथम पटक आँखामा धरें ।
मनभरिका भावनाहरु, मन मनै तिमी सामुन्ने छरें ।।
 
तिमी एक सानो आकाश खण्डमा थियौ मभित्र कतै ।
तिमी र म बीच प्राकृतिक रेशाको पुल ।
तिम्रो निम्ति एक ठूलो सागरको सतह जस्तै ,
त मेरो निम्ति एक सुन्दर, नयाँ भविष्यको मूल ।।
 
यो पहिलो हेराईको आशीर्वाद छ यही फेरि पनि ।
सुन्दर, सबल, स्वस्थ्य होस् तिम्रो गर्भ यात्रा ।
म पर्खिरहनेछु, तिम्रो यो मार्गको साक्षात्कार गर्दै ।
तिमी आउने दिन गन्दै त तिम्रो स्वरुप ह्दयमा धर्दै ।।

जसले संसार बनाए सारा, जसले धरे हर प्राणी यँहा ।
उनै हुन् तिम्रो पनि निर्माता, उनको वन्दना गर्नु सदा ।।
यहीं हाम्रो मुक्तिको द्धार हो, यस भवसागरबाट ।
उनै हुन् तिम्रो धर्ता, उनकै शरणमा पर्नु सदा ।।

मन भड्किनबाट रोक्ने प्रयास म धेरै गर्छु,
तिमीसम्म नराम्रो सोच नपुगुन् भनी, पींडाबाट म भाग्न खोज्छु ।।
मेरो मनको वेगले तिमीलाई छोलान् भन्ने त्रास ह्दयमा,
त्यही विधाताको शरणमा पर्नु यस्तो सोचको उदयमा ।।
 
 नराम्रो भाव म जित्न खोज्छु, तिमी पनि त्यही प्रयास गर्नू ।
खालि सुविचारले मात्र  हरदमै आफ्नो ह्दय भर्नू ।।
ठूलो कर्तव्य आफूमा भएको अनुभव गर्दैछु हरपल ।
ममता र ज्ञान मात्र तिम्रा वरिपरि हुन् टलपल ।।

मेरो मनको शुभ तरंग मात्र पुगुन् तिम्रा माझ ।
मेरो ज्ञानको उज्यालो बनोस् तिम्रो शीरको ताज।।
मेरो कमजोरीको असर नील होस्, मेरो सन्तान ।
यी कमजोरीलाई पाठ बनाई हुनू तिमी महान् ।।

तिम्रो लागि लोकको कुनै सोचले असर नगरोस्
खालि विधाताको आशीस मात्र शीरमा रहोस् ।।
तिमीलाई मैले प्रदान गर्न सँकू योग्य गर्भ ।
तिम्रो निम्ति यो नौं महिने यात्रा बनोस् सुन्दर पर्व ।।

ए मेरो मनको राग! तिमी कमजोर बनिदेऊ अब ।
ज्ञानको उज्यालो तिमीमा परोस्, उदय हुन्ँ तिम्रो जब ।।
दुई हात जोडी , यही बिन्ति गर्छु ए भावना तिमी सित ।
केवल ज्ञानको मात्र मेरो मनसित रहोस् प्रीत ।।

अप्रिल ७, २०१२
 
हे विधाता! हे कालीगढ ! हे प्रकृतिको महान् निर्माता !
सन्तानको रक्षाको निम्ति आव्हान गर्दैछु यो माता ।।
गर्भ भित्र मेरो ऊ सर्वप्रथम हो तिम्रो सन्तान ।
तिम्रो भरमै उम्रदो छ; त्यो कलिलो सुक्ष्म ज्यान ।।

मेरो परिधि बाहिर अनि विज्ञानको सिमा भन्दा पर ।
ऊ हुर्कोरहेको छ त्यो आश्रममा जुन हो तिम्रो भक्ति घर ।।
यो शीशमा  तिम्रो हात रहोस् सदा, यो मेरो पूकार ।
मेरो सन्तानको रक्षा गर; यो माताको प्रार्थना होस् स्वीकार ।।

उसको ह्दयले शान्ति पाओस्, आत्माले तिम्रो साथ ।
शीरमा उसको हे गुरुदेव सदैव होस् तिम्रो हात ।।
दुनियाँको कुरा म सुन्दिन, तिम्रै वाणी रहोस् गुन्जन ।
लोकको  बात म गुन्दिन, तिम्रै शरणमा परोस् यो मन् ।।

तिम्रै शरणमा हामी दुई, हर मुश्किलबाट  बचाऊ ।
हर कार्यको प्रतिफल तिमीमै सर्मपण गर्न सिकाऊ ।।
हे भक्ति विधाता, मनमा सदा तिम्रै रहोस् बास ।
हर विचार स्वच्छ बनाऊ, विघ्नको गरी नाश ।।

पूकार छ यो ह्रदयको, सुमार्गमा लागोस् मेरो वंश ।
शरीर मात्र म भित्र हुर्कदों, आत्मा त हो तिम्रै अंश ।।
मलाई सद्बुध्दिको मार्ग देखाऊ, मेरो सन्तानलाई ज्ञानको ।
तिम्रै शरणमा आएको छु, रक्षा गर मभित्र हुर्कदों ज्यानको ।।

अप्रिल १६, २०१२

मेरो बढ्दो गर्भमा, तिम्रो मधुर मधुर बहाव ।
तिम्रो हुर्कदो त्यो शरिरको मेरो शरीरमा हुने प्रभाव ।।
यी सबको अनुभूति सितै, एउटै भावना छ सबल ।
मेरो गर्भमा तिमीलाई कुनै कठिनाई नहोस् अनुभव ।।

विधाताको कालीगढिमा खुसी खुसी तिमी रंगिनू ।
तेज बुद्धि अनि सुन्दर रुपको साथ तिमी अंगिनू ।।
शान्तिको जलमा तिम्रो शरीरको निर्माण होस् ।
यो नौं महिने यात्रा तिम्रो सुन्दर, सुखमय बनोस् ।।

अभिमन्यूले जीवनको महत्वपूर्ण ज्ञान गर्भमै पाए ।
तर हर ज्ञानलाई तिमी पूर्ण रुपमा सिक्नू ।।
कही, कतै, कुनै विषयमा मन अड्केको खण्डमा ।
ए सन्तान, आफ्नो परमात्मा माझ प्रश्न झिक्नू ।।

अप्रिल २६, २०१२
१३ औं हप्ताको आरम्भमा , एक हलुको सासले म सुस्ताए ।
तिमी अलि बढी सुरक्षित छौ भनी, धेरै पछि म मुस्काएँ ।।
ह्रदय भरि माया, तर एक नजानिदो डर, यही रहेछ ममता सितको भय ।
आफूभित्र प्रकृतिको नयाँ रुपसितै पाउँदैछु म मातृ ह्रदय ।।

मेरो प्रथम सन्तान हुनेछौम तिमी,
कयौं कयौं  मातृत्वको पाठ सिकाउने गुरु पनि ।
जति समय बित्दै गएको छ ,
त्यति मेरो व्यग्रता बढ्दो, तिमी आउने दिन गनि ।।

एक नयाँ जीवन प्रकाशको उदय ,
तिम्रो आगमनसितै हुनेछ हाम्रो जीवनमा ।
यो प्रकाशको हल्का चमक
देखि सक्यौं हामीले हाम्रो गगनमा ।।

उत्सुकता, व्याकुलता, डर- अनेक भावनाको समिश्रण ।
नौलो बदलावको अनुभूति प्रत्येक क्षण ।।
तिमी स्वस्थ्य रहूँ भन्ने हरपलको चाहना ।
तिम्रो जीवन प्राप्तिको प्रभुसितको कामना ।।

 यो मनसित म युद्धमा छु केवल सत्यको विजयको लागि ।
गलत विचारको अन्त्त गर्न त  मानव मन जित्नको लागि ।।
तिमी सम्म यो जीतको प्रतिध्वनि मात्र पुगोस् ।
ए मेरो सन्तान, विजयको संगितले तिम्रो कर्ण चुमोस् ।।

अप्रिल २७, २०१२
संसारमा सुख छ त दुःख पनि, ज्ञान छ त अज्ञान पनि ।
शक्तिवान छन् त लाचार पनि, दिन छ त रात पनि ।।
तर वास्तवमा यी कोहीं छैनन्, सबको अन्त्य विचारमा ।
यही विचार जन्माउने मन जित्नू, हर मानवको रण भूमि ।।

यो  रण भूमिमा जीत हासिल गर्ने एक नै छ नीति ।
त्यो नीतिको एक छ नाम- विधातासितको प्रिती ।।
यो प्रीतिले रंगिनू पूरै, यो भन्दा भन्दा सुन्दर रंग कँहा छ ?
मुक्ति त्यहीं छ मानवको परमात्माको प्रिती जँहा छ ।।

दुःखको, अज्ञानको, रातको त लाचारिको के हैसियत ?
जँहा विधाताको प्रेम र विधाता प्रतिको प्रेम हुर्कन्छ ।
जँहा उनको आशीश बहन्छ त्यस ठाँऊ,
जुन बाटो दुःख आउँछ त्यहीं बाटो  दुःख फर्कन्छ ।।

जीवन दिने उनी, ज्ञान दिने उनी, हाम्रो त विश्वास मात्र ।
गर्ने गराउने उनी नै हुन् प्रिय, हामी त केवल सासको पात्र ।।
यहीं विश्वास म दरिलो बनाउँदै छु, तिम्रो जन्मको लागि ।
तिम्रा लागि आशीश मात्र ल्याएको छु, उनैसित मैले मागी ।।

 मे १६, २०१२

म सोचको तराजुमा कहिल्यैं भारी हुन्छु त कहिल्यैं हलुका ।
कहिल्यैं भावनाको घुम्टो भित्र घिऊ सरि नरम त कहिल्यैं रुखा ।।
मेरो बदलिंदो र अलझिंदो भावबाट म सिक्ने प्रयासमा ।
ए मेरो सन्तान, तिम्रो उन्नति र विकास मात्र होस् मेरो हर आभासमा ।।

जन्मको पथमा तिमी लागेको म कर्मको पथमा ।
ममताको बलियो लगाम, हाम्रो जीवन रुपी यो रथमा ।।
अर्जुनको सारथी कृष्ण थिए, उनि बाहेक अरु को बन्न सक्छ र अगुवा ?
उनी रहे जीवन मुक्ति पथ, उनी विना केवल अन्धकार कुवाँ ।।

हामी सबका सारथी, हाम्रै सोछ भित्रबाट जीवन छन् हाक्दैं ।
हर अनुभव सित फल्दै त हर प्रयासबाट पाक्दैं ।।
जीवनरुपी बोटबाट सुन्दर फलका प्राप्तिका निमित्त ।
यिनै सारथीलाई भेट चढ्छ यो फल, तःथ लाग यसमा भई दत्त चित्त ।।

हर मार्ग तिमीबाट शुरु हुन्छ, त अन्त्य वास्तविक तिमीमा।
मार्गको कमी कहिल्यै रहन्न, केवल बलियो दृष्टि राख्नु रिमीझिमीमा ।।
मनको ले छ छेऊ, त्यसैमा हुन्छ क्षमता मन काँट्ने  ।
मनको छेऊ विधाता नै राख्नू, उनैमा छ क्षमता आँसु बाट्ने ।।

जीवन वसन्त हो तर प्रकृतिको लागि ठण्डा वरफ पनि छ सत्य ।
रुखको पात पनि सधैं उसको रहन्न, तब के का लागि मरि-हत्य ?
बदलाव अटल छ त अटल छ बदलावमा बदलिनू ।
जब बदलिनू नै छ भने, सुन्दर भविष्यको पथ किन नालिनू ?

डर फ्याँकिदेऊ मनबाट, डरले हिम्मत धमिल्याँउछ ।
जसले हिम्मतले हाँक्छ रथ, उसैले सदा गन्तव्य पाउँछ ।।
गन्तव्य एक नै हुन्छ तर हर मोड मार्ग- दर्शक ।
बहुमुल्य हीराले सहेकै हुन्छ ताप र दबाबको घर्षण ।।

सफल हुन केवल एक कदम काफी छ सही दिशामा ।
शुभ शुरुवातलाई काफी छ एक मुस्कान सिसामा ।।
तर, यी सब  हुन् घरमा थपिंदै जाने तल्ला सरि ।
धरातल चाहीं सम्झाउनू आफूलाई घरि घरि ।।

संसार अति सुन्दर छ, यो नियाल्ने दृष्टि लिई आउनू ।
सौंन्दर्य र शक्ति सित, एक नँया सृष्टि लिई आउनू ।।
तिम्रा स्वागतमा मेरा हात व्यग्र त काख छन् आतुर ।
ममताको यति बलियो वेग सामु अरु सब भावना चुर ।।

१६ औं हप्ताको शुरुवातमा, तिमी चल्दै गरेको आभास ।
हर पल तिमीलाई अनुभव गरि फेर्दै छु सन्तोषको सास ।।
तिमी खेल्दै छौं म भित्र अब, आफ्ना हात खुट्टा फिंजाई ।
म मन मनै तिमीलाई नियाल्दै छु, आफ्ना परेला भिजाई ।।

म भित्र सृष्टिको बीज रोपी विधाताले मलाई धर्ती बनाए ।
यो कर्मरुपी भवसागरमा, तिम्रो साथ दिलाए ।।
यो आशीसको लागि सदा रहनेछु म उनमा आभारी ।
यिनै विधाताले पुर्याउँछन् यो भवसागरको पारि ।।

म भित्र तिमी छौ, त तिम्रो अनुभवले म बन्दै छु धनी ।
मेरो शरीर भित्र दुई मुटु त दुई स्पनन्दन पनि ।।
मेरो स्पनन्दनको हर आवाज तिम्रो गीत बनोस् ।
मेरो हर प्रयास तिम्रो लागि सुन्दर जीत बनोस् ।।

वाणी मेरो नसुने पानि मेरो भाव त अवश्य बुझ्छौं ।
मेरा प्रत्येक अनुभूति भित्र, एक पाठ अवश्य भेट्छौं ।।
तिम्रा हरेक नयाँ उपलब्धिमा म मुस्काउने छु मेरो सन्तान ।
बाहिर जब आउने छौं स्वयंमा बन्ने छौ तिमी मेरा शान ।।

त्यो पल म पर्खिरहेको छु,तिमीलाई सम्पुर्ण रुपमा धर्न ।
तिम्रो छविले मेरो ह्रदयको हरेक कुनालाई भर्न ।।
मेरो शरिर भित्र बनेको, त्यो शरीरको छवि नियाल्न ।
मेरो कविताको भावबाट बनेको मेरो कवि नियाल्न ।।

मे १७, २०१२



जब जब म केहीं लेख्न खोज्छु, तिमी मभित्र सलबलाउँछौ
मानौं, अहिले नै मेरो कविताको भाव बुझे सरि, खलबलाउँछौ ।।
तिम्रा साना साना गतिविधि पनि मैले अनुभव गरे सरि
कमल हातमा समाउँदा, लाग्छ, तिमी नै आयौ भाव भरि ।।

जब जब मनको व्यग्रता पोख्नेतिर लाग्छु म यहाँ
व्यग्रता, ममता बनी पोखिन खोज्छ जहाँ तहाँ ।।
एक नौलौ डुङ्गामा, नौलो गन्तव्यतिर अघि बढे जस्तो
हर मोडमा झन् बलियो हुने यो आभास हो कस्तो ?

मौसम पनि जाडोबाट हेर वसन्ततिर आयो
हाँगामा हिऊँका थुप्रोको साटो कलिला मुना छायो।
रित्ता आकाश अब पंक्षीका झुण्डले सजिए
नांगा रित्ता रुख पनि, पातको आगमनला लचकिए ।।


तिम्रो आगमनको खबर अरु सामु वसन्त सितै उदायो
मेरो खुशीको साथै, प्रकृतिपनि स्वयंमा रमायो ।
मेरो सन्तान, यसरी नै खुशीको ध्वजा तिमी फैलाऊ
जहाँ जहाँ जान्छौ,उहीं सदा वसन्त तिमी पाऊ ।।

मे २३,२०१२

हप्ता अब बित्दै छन् अलि बढी वेगमा
फैलिदो शरीरलाई सन्तुलनमा राख्न, ढाड दुख्छ आवेगमा ।
तन्कदो अंगसितै, खसखसाउने अनुभव चर्मको
तिम्रो हुर्कदो शरीर सामु, के हैसियत यो मर्मको ।।

मर्म पनि मीठो लाग्छ, जब तथ्य छाउँछ यो मनमा
दुःख सुख एकै सिक्काको दुई पाटा हर जीवनमा ।
अब  बिस्तारै हरपल तिम्रो अस्तित्वको हुन्छ भान
हर क्षण मेरो मुटु भरि तिमी छाउँदै गरेको अनुमान ।।

माथिबाट तल कुद्छौ, अनि दाँयाबाट बाँया
अनुमान र अनुभवको यो अजब-मधुर छायाँ ।
तिम्रा  यी प्रबल बन्दै गएका हरेक अनुभव सित
म साक्षात्कार गर्दैछु, प्राकृतिक कालीगढीको रित ।।

तिमी जति चाहन्छौ म त्यति नै फैलने छु तिम्रो निम्ति
तिमी स्वस्थ र खुशी रहनू, यो नै छ एक बिन्ती ।
नडराउनू, नहडबडाउनू, प्रकृतिको निम्ति केही नयाँ छैन
सम्झनामा नहोला तर हाम्रै निम्ति पनि यो नव हैन ।।

काउकुतीको अनुभवसित जति म प्रसन्न छु आज
अनुभवको यो शुरुवात हो या कहिल्यै नअस्ताउने साँझ ।
तिम्रा प्रत्येक चञ्चल चपल पलभित्र समेटिएका वृद्दि
तिमी सम्म पुगोस् केवल, प्रबम सकरात्मक आवृत्ति ।।

मे ३०,२०१२
 
भावना बलियो छ मेरो, अझ दिन प्रति दिन कस्सिदों
तिम्रो गतिविधि सितै, माया मनमा अझ छ भरिंदो ।
आँखाले केही नदेख्दा पनि, उदर हेरी टोल्याउँछु
काउकुती जस्तो अनुभवले बेला बेलामा रमाउँछु ।।

पाचौं महिनाको प्रारम्भ थलोमा, तिमी रमाइरहेछौं
सायद, कहिल्यै आफ्नो नाक त कहिल्यै औंला समाइरहेछौ ।
बेला बेला अब तिमी मुस्काउँछौ पनि रे
भित्र भित्रै भावना र अनुभव सितै सुस्ताउँछौ पनि रे ।।

तिम्रो हुर्कदो प्राणसित अब मेरो वाणी तिमी सम्म पुग्छ
तिम्रो महत्वको सामु अब मेरो विश्व पुरै झुक्छ ।।
आजकल त मेरो ढुकढुकी तिम्रो गीत बनेको होला
तिम्रो निम्ति धड्किने यो स्पन्दनमा प्रीत अझ बढेको होला ।।

तिम्रो मनमा पनि त कुरा खेल्दो हो, उत्सुकतामा मन बल्दो हो
मेरो माता, मेरो पिता, मेरो विधाता जस्तो भाव चल्दो हो ।
म बाहिरबाट सुमसुमाउँछु, अनुभव त होला केही,
शब्द धेरै नभए पनि, मायाको भाव हो त्यही ।।

जन्म बेलामा सहज रुपमा धर्तीमा अवतरण गर्नु छ
त्यो भन्दा पहिले, यो नौ महिने यात्रा तर्नु छ ।
नाता बलियो, ममता बलियो, यो हाम्रो अनुपम साथ
त्यो दिनको प्रतिक्षामा छु, जब मेरो स्पर्समा हुनेछ तिम्रो माथ ।।

म फरफराउने छु सबैभन्दा उँचो ध्वजा सरि
म खुशीले भुनभुनाउने छु, मेरो सुन्दर कोपिलाको वरिपरि ।
तिम्रो पहिलो स्पर्सको लागि म निकै आतुर
सही समयको पर्खाईमा म जति नै तिमी पनि व्याकुल ।।

कति कुरा तिमीलाई भन्नु छ, कति कुरा छन् तिम्रा सुन्नु
दुवै जना मिली जीवनका कयौं गाथा छन् गुन्नू ।
सन्तान मात्र हैन, मेरो  मित्र पनि छ आउँदै
मेरो आकाशमा तिमीसितै, मेरो वाल्यकाल छ छाउँदै ।।

फेरि बगैंचामा खेल्ने मौसम छ अब फर्किदैं
साना साना कुरामा खुशी भेट्ने दिन छ आउँदै
आफ्ना दुई जोडा आँखाले नभेट्ने दृश्य तिमीबाट पाउनेछु ।
जीवनका आँगनमा वाल्यकालको खेलसितै छाउनेछु ।।

तिम्रो भोजन, तिम्रो विश्राम, तिमीलाई जीवनको परिभाषा बनाई
आफूबाट मुक्त भई, नयाँ व्यक्ति बन्ने छु तिमीमा समाई ।
आफ्नो निम्ति नभई, प्रथम पटक, दोस्रोको निम्ति बाच्नेछु
माता शब्दको परिभाषालाई आफ्नो परिभाषा बनाई साच्नेछु ।।

सन्तान बन्ने भाग्य पछि अब आमा बन्ने मौका छु धर्दै
यही अनुभवको निम्ति, प्रकृतिले म भित्र ममताको  बीज छ छर्दै
यो बीजबाट उम्रने बालीको हर फल तिम्रो नाममा
प्रकृति, विधाता, तिमी र म, सबै ब्यस्त यही काममा ।।


मे ३१,२०१२



****** बाँकी लेख पनि चाँढो राख्ने प्रयास गर्ने छु*************






 



No comments: